सान्जेन आईपीओमा ३३ लाख भन्दा बढी कित्ताका लागि आवेदन

Aarya News Desk

विराटनगर। सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीका लागि निष्कासन गरेको आईपीओमा शुक्रबार साँझसम्म ३३ लाख २४ हजार ३१० कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले दिएको जानकारी अनुसार १६ हजार ५३८ जनाले ३३ लाख २४ हजार ३१० कित्ताका लागि आवेदन दिएका हुन्। कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिने सकिने छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। सो अवधिमा माग अनुसारको आवेदन परेन। त्यसपछि असोज ४ गतेसम्मका लागि समय थप भएको थियो।

यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो।

कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ। स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।

प्रकाशित मिति: २०२२-०९-२५ , समय : ०८:०४:४९ , ४ महिना अगाडि