१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत

Aarya News Desk

विराटनगर। मोरङमा अपांग युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ। शारीरिक रूपमा अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जनालाई पक्राउ गरेको हो ।

लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो।

प्रवक्ता डीएसपी श्रेष्ठका अनुसार युवतीका दुवै खुट्टा चल्दैन। हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको बताउनुभयो । खेतीमा काम गर्न गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लेटाङ–९ मा राईको खेत छ।

अपांगता भएकी युवती बलात्कृत भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो। घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०९-२७ , समय : १०:२९:५२ , २ वर्ष अगाडि

error: Content is protected !!