०६ बैशाख २०८१, बिहिबार
2024-04-18

नव निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन

Aarya News Desk

विराटनगर। ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो । कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरीकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरीकले सुरक्षाको प्रत्याभुती पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-०९-२७ , समय : २०:५४:०० , २ वर्ष अगाडि

error: Content is protected !!