सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे

Aarya News Desk

काठमाडौं। सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को कात्तिक १६ गतेको निर्णयानुसार २०७९÷०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पोहोरको तुलनामा अहिले धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल २ सय १५ र मध्यम धानमा प्रतिक्विन्टल २ सय २६ ले बढी हो। पोहोर मोटा धानका लागि प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानका लागि २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ।

यस वर्ष तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ। त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले ३३ करोड विनियोजन गरेको छ। यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुनेछैन।

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई प्रतिक्विन्टल एक सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था छ। गएको साल यो कार्यक्रमअनुसार नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ।

कृषि कार्यालय, कृषक प्रतिनिधि, खाद्य कम्पनीका प्रतिनिधिसमेत रहेको खरीद कमिटीले तालिका बनाएर धान खरीद प्रक्रिया सुरु हुन्छ। तर, सरकारले मूल्य ढिलो गर्दा बाली बिक्रीबाट नगद आवश्यक पर्ने किसानले व्यापारीलाई कम मूल्यमै उत्पादन बिक्री गर्न बाध्य भइरहेका छन्। सरकारी प्रक्रिया र ढिलासुस्तीका कारण नै किसान ठगिनुपरेको गुनासो आउने गरेको छ।

प्रकाशित मिति: २०२२-११-१० , समय : १५:३५:५३ , १ वर्ष अगाडि

error: Content is protected !!