१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो: रेखा थापा

Aarya News Desk

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् ‘मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि बिद्रोह गरिरहेका छन् ।’

उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन् । उनले भनिन् ‘पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने ? यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाई दिनुहोस् ।’

थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरि पनि देशको अवस्था उस्तै रहने बताएकी छन् । ‘आज पनि हाम्रो देशलाई सतीले सरापेको देश भन्छन् । यस्तो नहोस् कि अब युवाले सरापेको देश बनोस् ।’

उनले साँच्चै नेपाली जनताले विकास चाहने हो भने जुनसुकै पार्टी भएपनी नयाँ अनुहार र युवा जोसलाई नीति बनाउने स्थानमा पुर्‍याउनुको विकल्प नरहेको बताएकी छन् ।

आफ्नो पार्टीका नेतृत्वलाई सुधार्न भएपनी जनता परिवर्तनको पक्षमा उभिने विश्व व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: २०२२-११-११ , समय : १९:३५:५० , १ वर्ष अगाडि

error: Content is protected !!