२० बैशाख २०८१, बिहिबार
2024-05-02

पार्टी जोगाउन लग्दा छोरा नाति जोगाउन नसकेको ८१ वर्षीय तुलसीरामको गुनासो

Aarya News Desk

मोरङ । यति बेला देश भर चुनावी माहौल छ । चिया पसल देखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याइ छ ।
यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो व्यक्त गरेका हुन् । उनले भने ‘सक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिन । खै कसको लागि राजनीति भइरहेको छ ?’
उनले नेताहरू जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्ति प्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन् ‘चुनाव अगाडी नेतासँग हिँड्नु दौडनु बेकार रहेछ । जितेपछि फर्किएर हेर्दैनन् । हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए ऐले मेरा नाति  नातिनी मसँगै त हुने थिए । पार्टी बचाएर जीवनभर उपेक्षा बाहेक केही पाइएन बाबु । अब त नयाँ अनुहारलाई मौका दिने हो ।’
सिटौला भन्छन् ‘अब त नयाँ पुस्ताको आवश्यकता देशले महसुस गरेको छ । यो कुरा म बुढो मान्छेले त थाह पाइसके ऐलेका युवा त त्यसै बौद्धिक छन् । अवस्था मात्रै परिवर्तन नभएको हो व्यवस्था त धेरै परिवर्तन भयो । मलाई एउटा कुरा भन्दिनु त । मेरो नेता पनि त्यै, मेरो छोरोको नेता पनि त्यै अब त हुँदा हुँदा मेरो नातिले पनि उसैलाई नेता मान्दिनुपर्ने ? यो त लाजमर्दो कुरो हैन र ? ‘
उनले थपे ‘राणा शासन फालियो देश बन्छ भने खै के बन्यो ? पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो । तर देशको मुहार परिवर्तन भएको किन देख्न नपाइने ? हुन त देश त बेच्नेले युवा बेच्नु ठुलो कुरो हैन । अब यी ब्यपारीहरुलाई जनताले चेताउने छन् ।’
उनले हाँस्दै भने ‘हुन त म आफै इतिहास हुन लागे तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइन । अति भएपछि खती हुन्छ भन्थे हो रहेछ । यो अति भएपछि युवा जागेका हुन् । म त खुसी छु, यो मेरोलागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भए । हाम्रो ठाउँमा त नाम चलेकी छोरी उठेकी छन् । मंसिर ४ कहिले आउला भनेर पर्खिरहेको छु ।’
तुलसीरामको कुरा सुनिरहेकी उनकी श्रीमती पद्मा सिटौलाले भनिन् ‘हो त राजनीति त बनाउनको लागि हैन ? सबै भत्काउनेलाई के भोट दिनु ? म पनि रेखा छोरीलाई भोट दिने । हामी बूढाबूढीलाई दिन कटाउने चौतारी छैन । मठमन्दिर मासेका छन् । अरू त त्यस्तै हो खेती गरेर खाने गरिबले बाली लाउने बेला मल पाउँदैन । मल लिन गयो भने कुन पार्टीको हो भनेर हेर्छन् । पहुँच हुनेले मात्रै हो मल पनि पाउने । अनि कृषिप्रधान देश भनेर भाषण गर्‍यो बस्यो । यस्ताले के देश विकास गर्लान् र खै । मलाई त देश भरीबाट युवाले जितिदिए हुन्थ्यो भन्ने छ । म बुढीको आशीर्वाद लागोस् ।’
तुलाराम र उनकी श्रीमतीजस्तै कयौँ व्यक्ति पुरानो नेतृत्वबाट दिक्क देखिएका छन् । यो पटक देशभर नयाँ पुस्ता हाबी भएसँगै निर्वाचन रोचक हुने भएको छ ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : २१:२८:४२ , १ वर्ष अगाडि

error: Content is protected !!